छुटाछुट्टै स्थानको सवारी दुर्घटनामा परी ४ को मृत्यु

घाइतेको उपचारसँगै थप अनुसन्धान हुँदै

काठमाडौं । काठमाडौं, चितवन, सल्यान र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं, कागेश्‍वरी मनहरा नगरपालिका ६ स्थित सडकमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।

गम्भीर घाइते भएका साइकलयात्री सिन्धुली घर भई भक्तपुर ठिमी बस्ने ३७ वर्षीय बासु कार्कीको शंकरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधनको नम्बर नखुलेको र खोजी भईरहेको प्रहरीले जनाएको छ । चितवन, भरतपुर महानगरपालिका ५ कल्याणपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

ना ५५ प १४२५ नम्बरको मोटरसाइकलको ठक्करबाट नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो भने घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सल्यान, छत्रेश्वरी गाउँपालिका ६ स्थित सडकमा रा ३ प ७००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दार्मा गाउँपालिका बस्ने ४४ वर्षीय टेक बहादुर केसीको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका ८ कालिकास्थित सडकमा भे १ त ६५८६ नम्बरको ट्याक्टरले भे ६ प ३४८८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिंदा मोटरसाइकल चालक बारबर्दिया नगरपालिका ९ ढकेला बस्ने २१ वर्षीय उमेश पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने २१ वर्षीय सन्तोष चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।