रौतहटमा प्रहरी कारवाहीमा परी एक घाइते

थप अनुसन्धान जारी

रौतहट । रौतहटको इशनाथ नगरपालिका १ वकैया खोलाको बाँधमा प्रहरी टोली र ३ व्यक्तिबीच दोहोरो गोली प्रहारमा एक व्यक्ति घाइते भएको छ ।

प्रहरीको जवाफी फयारमा भारत विहार मोतिहारी राजजटौलिया ग्राम पंचायत ४ बस्ने २१ वर्षीय शेख चान्दली घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले उक्त स्थानमा जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटसाइकलमा सवार ३ जनाले प्रहरीलाई लक्षित गरी फयार गरेकोमा प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा मोटरसाइकलमा सवारमध्ये चान्दली घाइते भएका थिए ।

घाइते चान्दलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान समेत बरामद गरेको छ ।

मोटरसाइकल सहित फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।