एमसीसी राष्ट्रघात : कविता

कमिसनखोरको प्रवृत्ति

एमसीसी राष्ट्रघात

कमिसनसँग स्वाभिमान साटी
फुटाएरै आफ्नो मूल पार्टी
महाकालीमा पनि भएथ्यो घात
बटुल्न धन, हसुर्न भात
लाग्नेछ भनियो भारुको खात
रहेछ आखिर त्यो राष्ट्रघात ।

लौ आज फेरि कोशीका घाती
कर्णाली, अरुण, गण्डकका घाती
एउटैमुख भएर यी लोभीपापी
एमसीसी थोपर्ने गर्दैछन् घात
थपेर संकट पार्दैछन् बर्बाद ।

परिस्थितिवश कोरी र बाटी
एकचोटि भएथे देशभक्त खाटी
कमिसनखोरको प्रवृत्ति कस्तो ?
फेरि त्यही महाकालीमा जस्तो
उर्लिन्छ भनेर डलरको भेल
अर्काको सैन्य स्वार्थी जालझेल
एमसीसी लाद्ने चल्दैछ खेल ।

एनसेलसँग हाम्रो अरबौ छ
भ्रष्टसँग असुल्नु खरबौ छ
त्यत्तिकै ढुकुटी फ्रिज भइजान्छ
त्यसैको चासो छोडेर गर्न
डलर र भारुले भकारी भर्न
कपुतहरु सब भा’छन् एकसाथ
दिएर हाम्रो इमानलाई मात
चाहन्छन् थप्न यी राष्ट्रघात ।

महाकालीसँग पश्चाताप छैन
सम्पदा बेचेको पछुतो छैन
उल्टै भिआईपी बन्दिने बा !
लोकरिजाइँ गर्न गफ ठूलाठूला
माटोको लागि के गर्याै राम्रो ?
पुरानै घाती, हौ तिमी हाम्रो
तिम्रो स्वार्थको सहयोगी बनी
एमसीसी मान्न सक्दैन देश
यो जाली छल् नगर्दै वेश !

एमसीसी दाताले काँ गर्यो न्याय
सिरिया, इराक, अफगानिस्तान ?
हेर त त्यहाँ, त्यही त हो सैतान
खोज्दैछ फेरि ऊ रणमैदान
जान्दछौँ हामी यो सबै कुरा
देश बन्धक राखी प्यास मेट्ने सुरा
कहिल्यै हुन दिइन्न पूरा
कसैको ताण्डप न नृत्य चल्छ
हेर्दै जाऊ तिम्रो सर्बश्व ढल्छ ।

देशभक्त हात, चिर्नेछन् रात
बन्नेछन् सोत्तर पहेँला पात
देख्नेछौ आफ्नो असल औकात
टिक्ला र कति यो राष्ट्रघात ?

(सिजापति राष्ट्रियता, सामाजिक विभेद, असमानता लगायतका विषयमा साहित्यका विविध विधामा कलम चलाउने गर्दछन् । उनी नेकपा (माओवादी केन्द्र) निकटको वाईसिएलका केन्द्रीय सचिव समेत हुन् ।)