माघ ३ गतेदेखि धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता

प्रथम टिमलाई १ लाख, दोस्रोलाई ५० हजारको पुरस्कार

धनकुटा । रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज धनकुटामा पत्रकार सम्मेलन गरी ‘सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्डकप महिला फुटबल प्रतियोगिता’ माघ पहिलो साता संचालन गर्न लागेको जानकारी दिएको छ ।

प्रजातन्त्रका लागी शहीद भएका धनकुटाका रामकृष्ण श्रेष्ठको सम्मानमा माघ ३ गते देखी ७ गते सम्म धनकुटामा उक्त प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतिष्ठान धनकुटका अध्यक्ष इश्वर अकेलाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार प्रदेश सभा सांसद लिला सुब्बा, सल्लाहकार विजय सन्तोषी राई लगायतले प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता संचालन गर्नु पर्ने उदेश्यमाथि प्रकाश पारेका थिए ।

प्रतियोगितामा प्रदेश नम्वर १ का ८ जिल्लाहरुका उत्कृष्ठ महिला टिमहरुले भाग लिने समेत आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद र कप, दोस्रो हुने टिमलाई ५० हजार नगर रुपैया र कप र प्रत्येक म्याचमा ओमेन अफ द म्याच नगद पुरस्कार र विधागत पुरस्कारमा समेत नगद राशी दिईने आयोजिक समितिका सल्लाहकार तथा धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राईले वताए ।

सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्ड कप महिला फटबल प्रतियोगिता संचालन गर्न करिव १३ लाख रुपैया लाग्ने आयोजक समितिका सचिव कृष्ण भागत श्रेष्ठले वताए ।

प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न समितिहरु निर्माण गरी अभियान संचालन गरिएको आयोजक समितिका सदस्य रोशनराज अमात्यले वताए ।

धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार सवारीको क्रममा विरोध (बम प्रहार) गर्दा निधन भएको थियो ।

उनलाई २०७४ साल माघ ३ गते तत्कालिन शेर वहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको बताइएको छ ।