नेवा–ताम्सालिङ प्रदेश घोषणाको माग गर्दै माओवादी केन्द्र आन्दोलित (भिडियोसहित)

‘वाग्मती’ नामाकरण खारेज गर्न सुझाव

काठमाडौं । सरकारले प्रदेश तीनको नामाकरण ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ राखेको विषयमा आम उत्पीडित वर्ग जनसमूदायको पहिचान र भावना विरुद्ध भएको भन्दै आज राजधानीमा नेकपा (माओवादी केन्द्र) ले विरोध प्रदर्शन गरेको छ ।

उक्त विरोध प्रदर्शनको कार्यक्रम माओवादी केन्द्रको नेवाः ताम्सालिङ प्रदेश समितिको आयोजनामा भएको हो ।

‘फोहर वाग्मती नामाकरण खारेज गर ! नेवा ताम्सालिङ प्रदेश कायम गर !’ भन्ने मुल नारा लेखिएको कालो ब्यानरसहित उक्त प्रदर्शन भएको थियो ।

विरोध प्रदर्शनमा बोल्दै माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारले जनभावना विपरित सदनमा निर्वाचन नै गरेर ल्याएको ‘नाम र राजधानी’ आफुहरुलाई मान्य नहुने भन्दै त्यसलाई तत्काल त्यही सदनबाट फिर्ता लिन सुझाव दिएका छन् ।

विरोध कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी ‘लोकेश’ ले स्थानिय भाषा, संस्कृति, सम्पदा, भूगोलको आधारमा त्यहाको मौलिक साँस्कृतिक पहिचान संरक्षण हुने गरी प्रदेशको विभाजन, नामाकरण गर्नुुपर्नेमा वर्तमान सरकारले बहुसंख्यक नागरिकको भावनामा चोट पुर्याउँदै ल्याएको हुनाले माओवादी केन्द्रले त्यसको विरोध गरेको बताए ।

नेता जैसीले मुलुकको पुर्न संरचना गरेर जनअधिकार सुनिश्चित हुने व्यवस्था ल्याउन हिजो दशबर्षे जनयुद्धसम्म बलिदानीपूर्ण इतिहास रच्दै, अनेकन समस्याहरु भोग्दै परिवर्तन र न्यायको सपना देखेका सबैलाई प्रचण्ड मण्डली समूहले धोकामा बदलेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले जनताको हक, अधिकार र राज्यशक्तिको बाँडफाँड सहितको वास्तविक गणतन्त्र नआएकाले लोकतान्त्रिक नामको गणतन्त्रका नव मण्डलेहरुले जनताको भावनामा आघात पुर्याउँदै आएको तर्क गरे । उनले जनताको राज्यसत्ता नआएसम्म दलाल संसदवादीहरुले यसैगरी जनतालाई भुक्याउने, धोका दिने कामलाई निरन्तरता दिने बताए ।

उनले माओवादी आन्दोलनबाट स्थापित नामबाटै प्रदेशको नामाकरण गरिनुपर्ने बताए । उनले स्थानिय भाषा, संस्कार र बहुसंख्यक जनसमूदायको पहिचान र भावनाको हिसाबले प्रदेश तीनको नाम ‘नेवाः ताम्सालिङ’ नै ठीक हुने भन्दै सरकारलाई तत्काल आफ्नो गल्ती सच्याउन माग गरे ।

उनले बिद्रोह जनताको अधिकार भएको उल्लेख गर्दै भने–‘अहिलेका सरकारवाला पनि जनताको आन्दोलनकै बलबाट त्यहाँ पुगेका हुन, इतिहास साक्षी छ । हाम्रो लागि जनताको भावर्ना कुल्चेको स्विकार्य छैन । यदि सरकारले जनताको यो आवाज सुन्दैन भने हामी त्यहि आवाजले संगठीत गर्दै आन्दोलनकै बिचबाट सरकारको नामाकरण खारेज गछौं र यहि चोकबाटै नेवाःताम्साली« प्रदेश घोषणा गछौं ।’

त्यसैगरी माओवादी केन्द्रका अर्का पोलिटव्यूरो सदस्य बलाराम पुनले पनि सरकारले गरेको नाम र प्रदेशको निर्णय कुनैपनि हिसाबले उचित नहुने तर्क गरे । उनले जनताको परिवर्तनको चाहनामाथि सरकारले कुठाराघात गरेर सदनबाट गरेको निर्णय आफुहरुलाई मान्य नहुने बताए ।

उनले माओवादी केन्द्र जहिले पनि जनताको पक्षमा, हक अधिकारको पक्षमा रहेकाले नेवाः ताम्सालिङ प्रदेशको लागि संघर्षमा उत्रिएको बताए । उनले सरकारलाई चुनौति दिदै भने–‘हाम्रो माग सुनिएन भने अब सडक बिद्रो हुन्छ, हामी जनताको नेतृत्व गछौं ।’

त्यसैगरी उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेवाः ताम्सालिङ प्रदेशका उपाध्यक्ष प्रकाश दाहालले पनि सरकारलाई तत्काल आफ्नो निर्णय सच्याउएर स्थानिय जनसमूह र भूगोगको पहिचान खुल्ने, नेवाः ताम्सालिङ प्रदेश नाम नै कार्यान्वयन गर्न माग गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अर्का पोलिटव्यूरो सदस्य अरुण घिसिङले स्थानिय पहिचानमा खोट लगाउँदै फोहर वाग्मती नामाकरण आफुहरुलाई किमार्थ स्किार्य नहुने बरु त्यसका विरुद्ध कडा आन्दोलन गर्ने भन्दै सरकारलाई चुनौति दिए ।

नेता घिसिङले वर्तमान सरकार जनघात, राष्ट्रघात, भ्रष्टचार र लुटमा लिप्त रहेको कारण उसलाई जनताको माग र भावनासँग कुनै मतलव नरहेको बताए । उनले हिजो माओवादीले देखाएको सपना र बुझाएको चेतनाकै कारण आम नागरिकहरु नेवाः ताम्सालिङ प्रदेशको कार्यान्वयनकै पक्षमा उभिने विश्वास व्यक्त गरे ।

उनले सरकारलाई सचेत भएर जनताको पक्षमा उभिन सुझाव समेत दिए । उक्त कार्यक्रमको सञ्चालन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा कम्युनिष्ट लिगका केन्द्रीय सचिव कपिल सिजापतिले पनि सरकारलाई त्यस्तो निर्णय तत्काल फिर्ता लिएर जनभावनाको सम्मान गर्न आग्रह गरेका थिए ।

कार्यक्रम राजधानीको माइतिघर मण्डला चोकमा भएको थियो । माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले नारा जुलुशसहित सरकार र संसदीय व्यवस्थाको कडा शब्दमा विरोध गर्दै नेवा ताम्सालिङ प्रदेशको माग गरेका थिए । नारा जुलुश तलको भिडियोमा हेर्नुहोला…..