प्रेस सेन्टर नेपालद्धारा ‘सुचना प्रविधि विधेयक’ खारेजीको माग (विज्ञप्तिसहित)

संगठीत आन्दोलनका लागि आह्वान

काठमाडौं । सरकारले प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन पटक पटक विभिन्न नामका विधेयक, ऐन, कानुनहरु ल्याइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रेस सेन्टर नेपालले कडा शब्दमा विरोध गरेको छ ।

प्रेस सेन्टर नेपालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले डप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी ‘सुचना, प्रविधि विधेयक’ ल्याउने आन्तरिक तयारी गरेको भन्दै विरोध जनाएको हो ।

प्रेस सेनटर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीद्धारा आज जारी गरिएको विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रताको खिलाफमा ल्याउने तयारी गरिरहेको सुचना तथा प्रविधि विधेयक तत्काल खारेज गर्न माग गरिएको छ ।

प्रेस सेन्टरका अध्यक्ष जैसीले विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रताको खिलाफमा, नागरिकको सूचनाको अधिकार प्रभावित पार्दै मुलुकमा पुनः निरंञ्कुशता लाद्न उद्देलित भएर त्यस्तो विधेयकमाथि छलफल गरिरहेको तर्क गरेका छन ।

सरकारलाई प्रेस स्वतन्त्रताको विषयमा सचेत नहन आग्रह गर्दै अध्यक्ष जैसीले जब्बर रुपमा त्यसलाई लागु गर्न खोजे सबै पत्रकार, नागरिक समाज, बुद्धीजीवीहरु एक भएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।

उनले पत्रकार सम्बद्ध विभिन्न संग, संगठनहरु राज्यको निरञ्कुंश नीतिबारे सचेत हुँदै त्यसका विरुद्ध संगठीत आन्दोलनमा उत्रिन आवश्यक रहेको बताएका छन् ।

साथै उनले संगठीत आन्दोलनको तयारीका लागि सबैमा आह्वान समेत गरेका छन् । बाँकी विज्ञप्तिको पूर्णपाठ…….

प्रेस विज्ञप्ति

हाम्रो संगठन आम श्रमजीवि पत्रकारको हक, हित र पेशागत अधिकारको पक्षमा दृढतापूर्वक उभिदै आएको विषय सर्ववितितै छ । संसदवादको रक्षार्थ वर्तमान केपी ओली सरकार प्रेस स्वतन्त्रताको खिलाफमा, नागरिकको सूचनाको अधिकार प्रभावित पार्दै मुलुकमा पुनः निरंञ्कुशता लाद्न उद्देलित भएको उसको नीति निर्णयहरुले संकेत गरिरहेको छ । यसै सन्दर्भमा हालै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ‘सुचना प्रविधि’ नामक प्रेस स्वतन्त्रता विरोधी विधेयक बहुमतले पारित गरेको र त्यसलाई ओली सरकारले कडाईका साथ कार्यान्वयन गर्न आन्तरिक तयारी बढाएको विषयहरु समेत सार्वजनिक भएका छन, यस विषय प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।

कम्युनिष्ट आवरणमा देखिने, अत्याधिक जनमत प्राप्त भनिएको वर्तमान ओली सरकार जनअधिकारको संरक्षक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाति, जनन्यायीक बन्न नसक्नुले सबै क्षेत्रबाट चिन्ता, आक्रोशहरु बढिरहेका छन् । हाम्रो संगठन प्रेसमाथि अञ्कुंश लगाउने, नियन्त्रण, प्रतिबन्ध र निषेध गर्ने ढंगले क्रमश एकपछि अर्को गर्दै सरकारले ल्याइरहेको विधेयक, ऐन, कानुनको कडा शब्दमा विरोध जनाउँदछ । साथै देखिरहेको निरंञ्कुश शैली हटाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको मौलिक स्वतन्त्रताको ग्यारेन्टी गर्न हामी सरकारलाई गम्भीरतापूर्वक सचेत गराउन चाहन्छ । र सबैखाले प्रेस विरोधी विधेयक, ऐन, नियमहरु यथासिघ्र खारेज गर्न माग गर्दछौं ।

संविधान प्रदत्त नागरिकको सुचनाको हक, मौलिक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको हकमाथि ताल्चा लगाउँदै जब्जर रुपमा विभिन्न विधेयक, ऐन, कानुनहरु ल्याउँदै मुलुकमा निरंञ्कुशता लाद्न खोजेमा नागरिक समाज, बुद्धीजीवी, सचेत नागरिक, लेखक, सञ्चारकर्मिहरु, सम्बद्ध संघ, संगठनहरु एक भएर आन्दोलनमा जान बाध्य हुनुको विकल्प छैन । सरकारको प्रेस स्वतन्त्रता विरोधी गतिविधिहरु प्रति सचेत बन्दै त्यसका विरुद्ध संगठीत आन्दोलनको तयारीमा जुट्न समेत हाम्रो संगठन हार्दिक आह्वान गर्दछ ।
मितिः २०७६/०९/२७

            
लोकराज जैसी
अध्यक्ष
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति