सवारी दुर्घटना रोक्न ‘म्युजिक सिस्टम र ट्रक साहित्य’ प्रतिबन्धित

गाडीको अगाडिको सिसामा स्टिकर टाँस्न नपाइने

काठमाडौँ । सार्वजनिक सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले सवारीचालक नजिकैको स्थानमा म्युजिक सिस्टम राख्न र सवारी साधनको पछाडि लेखिएका वाक्यांश मेटाउनुपर्ने नियम लागु गरेको छ।

सडक दुर्घटनामा साना लापरबाहीको समेत भूमिका रहेको ठहर गर्दै सरकारले विभिन्न नयाँ व्यवस्था लागु गरिएको सरकारी अधिकारीहरू बताउँछन्।

तर, सरोकारवालाहरूले भने नयाँ नियमका केही प्रावधानमा सहमति रहे पनि प्रायः विषयमा विमति रहेको बताएका छन्।केही चालकहरूले कतिपय नियमहरू हास्यास्पद रहेको बताएका छन्।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारी चलाउँदा अनिवार्य जुत्ता लगाउनुपर्ने, गाडीको अघिल्लो भागमा रहेको सिसामा स्टिकर टाँस्न नहुने र लामो दुरीका सवारी साधनमा रिसोलिङ्ग गरेको टायर अगाडिको चक्कामा राख्न नपाइने लगायतका नयाँ नियम सार्वजनिक गरेको छ।

गत हप्ता जारी सार्वजनिक सूचनाका आधारमा एक महिना यसबारे सचेतना फैलाउने र त्यस पछि विभाग तथा ट्राफिक प्रहरीले काराबाही अघि बढाउने बतार्इएको छ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५।७६ मा सडक दुर्घटनामा परेर २,७८९ जनाले ज्यान गुमाएका थिए।

पछिल्ला केही समय दुर्घटनाको सङ्ख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला अधिकारीहरूलाई बोलाएर दुर्घटना न्यूनीकरण गर्नका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल भन्छन् ‘तत्काल गर्ने सकिने कार्य पहिचान गरेर कार्य योजना बनाइएको हो। त्यसमा विज्ञहरूको पनि सुझाव लिर्इएको छ।’

सवारीचालकले एक हातले म्युजिक सिस्टम चलाउने र एक हातले स्टेरिङ चलाउँदा दुर्घटना भएको समेत पाइएको छ। त्यसकारण साना लाग्ने कुरामा कडाइ गरेका हौँ।

सो नियम यात्रुवाहक बसबाहेक ट्रक र ट्रिपरमा पनि लागु हुने बताइएको छ। सार्वजनिक सवारी साधनमा चालकको पहुँचभन्दा बाहिर भने म्युजिक सिस्टम राख्न सकिने हमालले जानकारी दिए।

मध्यकालीन र दीर्घकालीन रूपमा गर्न सकिने कुराहरूको कार्ययोजना बनाइरहेको हमालले बताए।

महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले पछिल्ला नियम विगतको अनुभवका आधारमा लागु गर्न लागिएको बताए।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा सवारीचालकको लापरबाहीका कारण दुर्घटना बढेको देखिएको हुँदा विभिन्न निकायका अधिकारीहरू सहितको टोलीले त्यस्तो निर्णय गरेको हो।

‘सवारीचालकले लापरबाही गर्ने परिस्थिति के हुन सक्छन् भनेर खोज्दा सङ्गीतको पनि भूमिका देखिन्छ,’ ढकालले भने।एकाग्रता भङ्ग भएका कारण दुर्घटना भएका उदाहरण छन्।

त्यसबाहेक सवारीचालकले मोबाइल फोन प्रयोग गर्न नपाउने र क्याबिनमा अरूसँग गफ गर्न नपाउने व्यवस्था समेत लागु गरिने ढकालले बताए।

क्याबिनमा सिट राख्न नपाइने र सहचालक वा सरोकारवाला बाहेक अन्य कोही पनि बस्न नपाउने व्यवस्था पनि गर्न लागेको उनले जानकारी दिए।

तर ती प्रावधान गत हप्ताको सार्वजनिक सूचनामा भने उल्लेख गरिएको छैन। तर कतिपयले भने लामो दुरीमा सवारी चलाउँदा चालक निदाउन नदिन वा एकोहोरिन नदिन गीत बजाउने वा कुराकानी गर्ने अवस्था परिवर्तन गर्न नहुने बताउँछन्।

तीन दशकभन्दा बढी लामो दुरीका सवारी हाँकिरहेका सावरीचालक थमबहादुर विश्वकर्मा सरकारले मुख्य चुनौतीलाई सम्बोधन गर्न नचाहेको बताउँछन्।

म्युजिक सिस्टम वा सवारीसाधनमा लेखिने कुराकै कारण दुर्घटना बढेको भन्ने निष्कर्षमा सहमत हुन नसकिने उनको भनाइ छ।

‘२०४३ सालदेखि गाडी हाँकिरहेको छु। त्यो बेला सडकमा गुडेको बस कसको हो समेत थाहा हुन्थ्यो,’ उनले भने।

समय फेरिएको छ। सवारीसाधनको चाप बढेको छ तर सडकको अवस्था भने उही छ।ू

फरक–फरक सवारीसाधनका लागि फरक–फरक लेन हुनुपर्ने हो। यहाँ त पैदल यात्री र सवारी साधन हाँक्ने सडक नै एउटै छ,’ उनले भने।

तर, सरकारी अधिकारीहरूले भने दीर्घकालीन महत्त्वका काम पनि अघि बढाइएको र साना कुरालाई नजरअन्दाज नगरेको तर्क गर्छन्।

सामाजिक सञ्जालमा नयाँ नियमबारे विभिन्न कोणबाट तर्कवितर्क भइरहेको छ। (बीबीसीबाट)