जवान छोराको लाश देखेपछि परिवारजनको विचल्लीः दोषीलाई कारबाहीको माग

छिट्टै हत्यारा पत्ता लाग्ने प्रहरीको भनाई

धादिङ । धादिङको थाक्रे गाउँपालिका २ कार्की गाउँकी सरिता कार्की (सरस्वती) को परिवार शोकमा डुबेको छ । बुढेसकालको सहारा हुर्किएको जेठो छोरा सन्तोषको हत्यासँगै उनको परिवार शोकमा परेको हो ।

बुढेस कालको सहारा छोराको उल्टै दाहसंस्कार गर्नु पर्दा पल पल मरेर बाँचिरहेका छौँ, आमा सरिता र बुबा शरण भन्छन्–मारेर आगो लगाइदिने मेरो छोराको हत्यारा कहिले पत्ता लाग्ला?

घर नजिकैको जंगलमा हत्या गरेर आगो लगाइदिएको अवस्थामा छोराको शव फेला पारेको आमा सरिता बताउँछिन् । होसमा आउँदा रुने उनी छिनमै बेहोस हुन्छिन् ।

छोराको शव भेट्दा उनले अत्तालिदै अन्तिम पटक हेरेकी थिइन् । मेरो छोरा परिवारकै खुसी थियो, उनलाई आगो लगाउँदा मेरो मन खरानी भयो, उनले भनिन् ।

गत २४ मंसिरमा उनी अबेरसम्म घरमा आएनन् । छरछिमेकमा गए होला भनेर खोजी भएन । राति अबेरसम्म घर नआएपछि खोजी भयो, तर भेटिएनन् । आफन्त, साथीभाइ इष्ट मित्र सबैसँगै सोध्दा सन्तोषको अत्तोपत्तो लागेन ।

घर परिवार, छिमेक आफन्तसँग सन्तोषको सम्बन्ध राम्रो थियो । चार वर्षदेखि गाडीका सहचालक भई काम गर्दै आएका थिए । डेढ वर्षअघि गाडी लाइनमा काम गर्ने मान्छेहरुसँग झगडा भएपछि भागेर छोराले ज्यान बचाएको बुबा शरणले बताए ।

उनी दसैदेखि घरमा नै बस्दै आएका थिए । हराएका सन्तोषको शव १५ दिनपछि ९ पुसमा घर नजिकै जंगलमा जलेको अवस्थामा शव भेटियो । इलाका प्रहरी कार्यालय गजुरीबाट घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर काठमाडौंस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि शव पठाए ।

पोष्टमार्टम रिर्पोटमा हत्या गरेर आगो लगाएको अस्पतालले पुष्टि गरेको शरणले बताए । उनले भने, जसले मेरो बुढेसकालको सहारा खोस्यो । मेरो त खुसी लुट्यो, उसको कारबाही नभएसम्म छोराको आत्माको आत्माले शान्ति पाउँदैन ।

ुछरछिमेकी भनेको अ‍ैचोपैचो सुखदुस्खमा काम लाग्ने सारथी हो, यति ठूलो बज्रपात हुनुमा छिमेकीको हात छ भन्ने कसरी सोच्न सक्छु ? सन्तोषका बुवाले भने, डेढ वर्ष पहिले छोरासँग भएको झगडाले हो भनौं भने घर नजिक ल्याएर हत्या किन गर्थ्यो ?

सन्तोषको शव फेला परेको पनि १५ दिन बित्यो, तर अझै हत्या कसले गर्यो ? प्रहरीसँग उत्तर छैन । दिन रात घटनाको अनुसन्धान भइरहेको र छिट्टै हत्यारा पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

(यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ )