अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोगको मुद्दाः ट्रम्प तनावमा

माथिल्लो सदन सिनेटमा मुद्दा प्रवेश

अमेरिका । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले त्यहाँका राष्ट्रसित डोनल्ड ट्रम्पमाथि महाभियोग लगाइएको मुद्दा चलाएको छ । त्यस मुद्दासँगै अमेरिकामा महाअभियोग लागेका राष्ट्रपतिको सूचिमा उनी तेस्रो बन्न पुगेको बताइएको छ ।

महाभियोग लागेको भएपनि अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमुक्त भएका छैनन् । उक्त मुद्दा माथिल्लो सदन सिनेटमा प्रवेश गर्ने बताइएको छ, जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्ने बुझिएको छ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ। त्यो ट्रम्पविरुद्धका दुई महाभियोग आरोपहरू मध्येको एक थियो।

मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो। मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए।

ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा मतदानको सामना गर्नेछन्।

वासिङ्टन डीसीमा मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प ब्याटल क्रीक, मिशिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभालाई सम्बोधन गर्दै थिए। त्यहाँ उनले भने, हामी मिशिगनमा रोजगारीहरु ल्याउँदैछौँ। कंग्रेसका अतिवादीहरू ईर्ष्या र घृणाले ग्रसित छन्।

ह्वाइट हाउसले एक वक्तव्य निकाल्दै सिनेटमा हुने सुनुवाइका क्रममा राष्ट्रपति निर्दोष साबित हुने कुरामा विश्वस्त रहेको बताएको छ।

पहिलो दफा अनुसार मतदान भएलगत्तै ट्रम्पविरुद्ध महाभियोग लागेको छ र उनी एन्ड्रु जोनसन र बिल क्लिन्टनपछि अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन्।

अब महाभियोगको विषयमा माथिल्लो सदन सिनेट प्रवेश गर्दैछ। माथिल्लो सदन सिनेटमा उक्त मुद्धामाथिको कारबाही अघि बढ्ने बुझिएको छ । बीबीसीबाट