भिडियोमा हर्नुहोस्, क्रान्तिकारी माओवादीले यसरी मनायो पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले राजधानी सहित देशका विभिन्न स्थानहरुमा भव्य रुपमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती मनाएको छ ।

क्रान्तिकारी माओवादीले सुदुरपश्चिमको कैलालीदेखि कर्णालीका सुर्खेत, सुदुरपूर्वको झापा लगायत अधिकांश जिल्लाहरु र केन्द्रको काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाएको हो ।

पार्टीको केन्द्रीय समितिको आयोजनामा ललितपुरको कुपण्डोलमा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव मोहन बैद्य किरणको प्रमुख आतित्थ्यता र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवको विशेष आतित्थ्यतामा रहेको थियो ।

त्यस्तै पार्टीका प्रदेश सेक्रेटरी दिनेश शर्मा सागरको समेत त्यहाँ उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता क्रान्तिकारी माओवादीका पीविएम तथा देजमोका प्रदेश अध्यक्ष पवनमान श्रेष्ठ प्रभाकिरणले गरेका थिए भने सञ्चालन पीविएम अग्नीज्वालाले गरेका थिए ।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरु, युवा, विद्यार्थी, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । पार्टीका शिर्ष नेताहरुदेखि उपस्थित सबैले लेनिनको फोटोमा माल्यार्पण गरेका थिए ।

उनीहरुले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै, श्रद्धासुमन जनाएका थिए । कार्यक्रमलाई महासचिव किरण, मोर्चा अध्यक्ष गौरव र जबस मोर्चाको तर्फबाट शारदा महतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा महासचिव किरणले क्रान्तिकारी शक्तिहरुबीचको एकता र ध्रुवीकरणमा जोड दिदैं बाहिर रहेका सबै सच्चा कम्युनिस्टहरुलाई एकता प्रकृयामा आउन आह्वान समेत गरे ।

त्यस्तै सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीशको प्रमुख आतिथ्यता रहेको थियो भने त्यहाँ पार्टीको कर्णाली प्रदेश सेक्रेटरी चक्रपाणी शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको त्यहाँबाट हाम्रा सहकर्मि मनराज कठायतले बताएका छन ।

त्यस्तै कैलालीमा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो समश्रय तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी चन्द्रहरी सुवेदी अटलको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी जिल्ला इन्चार्ज, सेक्रेटरी, विभिन्न मोर्चा र संगठनका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।

त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि विविध कार्यक्रमहरु गरिएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रमको भिडियो हेर्नुहोस्…..