एउटै मञ्चबाट आधा दर्जन कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले गरे यस्तो उद्घोष (भिडियोसहित)

काठमाडौं । राजधानीमा नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले आफ्नो पहिलो राष्ट्रिय सम्मेलेनार्थ जनआन्दोलन दिवसको सन्दर्भ पारेर आयोजना गरेको विशाल जनसभाको मञ्चबाट विभिन्न रुपमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले सम्बोधन गरेका छन ।

करिब आधा दर्जन कम्युनिस्ट पार्टीका नेताहरुले एउटै मञ्चबाट नेपालमा जनताको व्यवस्था अझै नआएको र त्यसका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका हुन । उनीहरुले जनतालाई संघर्षको प्रकृयामा सहभागि गराउँदै अघि बढ्नुपर्ने औल्याएका छन ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलको सभापतित्व र क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणको प्रमुख आतिथ्यतामा उक्त सम्मेलनको उद्घाटन भएको थियो । हिजोबाट जारी सम्मेलनको बन्दशत्र भोलिसम्म लम्बिने बुझिएको छ ।

उक्त मञ्चबाट नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा वैज्ञानीक समाजवादी पार्टी निर्माण अभियानका संयोजक विश्वभक्त दुलाल आहुती, दर्तावाल नेकपाका केन्द्रीय सचिवाल सदस्य रत्न जोशी (ऋषिकट्टेल समूह) र आयोजक देजमोका अध्यक्ष सीपी गजुरेल र पार्टी महासचिव किरण लगायतले सम्बोधन गर्दै मुलुकमा रहेको दलाल र जनघाती व्यवस्थाको विकल्पमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन ।

उनीहरुले कम्युनिस्ट पार्टीहरुको साझा उद्देश्य समाजवाद उन्मुख व्यवस्थाका लागि आवश्यक संघर्षमा होमिनुपर्नेमा सहमत जनाए । उनीहरुले एउटै मञ्चबाट संघर्षको प्रकृयालाई मजबुत बनाउँदै अघि बढ्न आवश्यक रहेको भन्दै त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन । बाँकी भिडियोमा हेर्नुहोस्