राष्ट्रिय राजनीतिमा युवाको अवस्था कस्तो छ ? राष्ट्र निमार्णमा कस्तो भुमिका खेल्नुपर्छ ? (प्रस्तुत छ, नेकपा- क्रान्तिकारी माओवादी, माओवादी केन्द्र र नेकपा निकटको विद्यार्थी संगठनका नेताहरुसँगको वहस)

(इतिहास पल्टाएर हेर्ने हो भने, व्यवस्था परिवर्तनका लागि, हक अधिकार प्राप्तिका लागि आजसम्म गरिएका सबै आन्दोलनहरुमा युवाको सहभागिता अर्थपूर्ण रुपमा देखिन्छ । प्रजातन्त्र प्राप्तिको आन्दोलन होस वा गणतन्त्रको लागि भनेर गरिएको दश बर्षे जनयुद्ध, युवाको नेतृत्व देखिन्छ बलिदानीको सूचिमा पनि । तर सडकमा सघर्ष गर्न सक्षम युवाको राजनीतिक दलको नेतृत्व तहमा, राज्यको नीति निमार्णको तहमा भने निकै न्यून सहभागिता रहेको देखिन्छ, यसको कारण के हुन सक्छ ? के राजनीतिक दलका नेतृत्वकर्ताले युवालाई सत्ताँ चढ्ने खुड्कीलोको रुपमा प्रयोग मात्र गरेका हुन ? कि युवाको असक्षकताको कारण पछि परेका हुन ? युवा उमेरले मात्र होइन, सोच, विचार र कार्यशैलीका हिसाबले समेत सक्रिय अनि परिवर्तनकारी हुन्छ । हामीले आजको वहसमा राष्ट्रिय राजनीतिमा युवाको अवस्था र राष्ट्र निर्माणमा भुमिकाका विषयमा वक्ताहरुको धारणा लिएका छौ । वहसमा नेकपा क्रान्तिकारी माओवादी निकटको अखिल क्रानितकारीका अध्यक्ष सेवनतराज भण्डारी, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका सचिव दानबहादुर साउद डिबि र नेपाल कम्युनिष्ट पार्टीका महासचिव दिपेन्द्र चलाउनेले भाग लिएका छन । प्रस्तुत छ, उनीहरुको धारणा….)

सेवन्तराज भण्डारी:क्रान्तिकारी माओवादी ‘युवा वर्तमानका अंशियार पनि हुन’

नेपालमा युवा विद्यार्थीहरुको अवस्था हामीले हेर्यौ भने वास्तवमा नेतृत्वको पिछलङ्गु गर्ने, चाप्लुसि गर्ने र अहिलेको जुन पोजिसन छ, त्यो भन्दा माथि जाने खुड्कीलोको रुपमा आफ्नो सांगठनीक हैसिएतलाई जोगाउने भन्दा बढि देखिन्न । युवा पुस्तामा पछिल्लो चरणमा सत्ताँ लिप्सा बढेर गएको पनि देखिन्छ, अझ भन्नु पर्दा आफ्नो निश्चित स्वार्थलाई पुरा गर्नका लागि चाप्लुसि गर्ने र आन्दोलनलाई प्रयोग गर्ने प्रवृति पनि बढेर गएको छ । विभिन्न समयमा भएका विद्यार्थी आन्दोलनहरु, युवा आन्दोलनहरु, जस्ले व्यवस्था परिवर्तनको लागि प्रभावशाली सावित भै सकेको भएपनि अहिले सत्ताँ पक्षिय आन्दोलनका रुपमा परिवर्तन हुँदै गएको छ । हामीले त्यो प्रवृतिको विरोध गरिरहेका छौं । हामी प्रतिपक्षिय आन्दोलनलाई सदैव जिवन्त राख्नु पर्दछ र आफ्नै माउ पार्टी, आफुले समर्थन गरेको, विचार बोकेको पार्टी सत्ताँमा भएता पनि त्यसले गरेको गलत कार्यको भण्डाफोर गर्नु पर्दछ, ति नेतृत्वद्धारा गरिएका भ्रष्टाचार, राष्ट्रघमति कामहरुको विरोध गर्न पर्दछ भन्ने विचार राख्दछौं ।

हामीले विगतदेखि नै भन्दै आएका छौ, युवाहरु, विद्यार्थीहरु भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका अंशियार पनि हुन । यो विषयलाई सबै विद्यार्थी, युवा संगठनहरुले उठाएका छन तर उनीहरुले कुनै तहमा राजनीतिक नियुक्ति लिनका लागि, कुनै मन्त्रीको पिए हुनका लागि, कुनै पदका लागि अंश खोजिरहेका छन, हामीले त्यसरी खोजिने अंशबाट युवा शक्तिको सम्मान हुदैन भनेका छौ । हामीले हरेक राजनीतिक दलभित्र युवाले नेतृत्व पाउने कुरा, कार्यकारीको भुमिका लिने कुरा र नीति निमार्ण तहमा पुग्ने कुरालाई युवाको अंशका रुपमा बुझेका छौ । यसरी मात्र युवाले सोचे जस्तो देश बनाउन सकिन्छ । अहिले केही राजनीतिक दलहरुलाई छाडेर अरु सबैमा युवाहरुलाई हेर्ने प्रष्ट दुष्टिकोण नै छैन, पार्टीका नेताहरुले युवालाई केटा केटी देख्ने र पार्टीको ब्यागग्राउण्ड बनाउने, नेता उत्पादन गर्ने क्षेत्रका रुपमा बुझ्ने गरेका छन । त्यसतो साचमा सुधारको जरुरी हामीले देखेका छौं ।

दानबहादुर साउद:माओवादी केन्द्र ‘गणतन्त्र संस्थागत गर्नमा युवाको भुमिका रहन्छ’

राजनीतिक रुपले बढि महत्वकासाथ हेरिएको तीन नम्बर क्षेत्रको मुख्य जिम्मेवारीमा रहेर मैले संगठनको काम गरिरहेको छु । राजनीतिमा युवाको अवस्थाका विषयमा कुरा गर्नुपर्दा हिजो विद्यार्थी आन्दोलनमा लामो समय संघर्ष गर्दै आएका नेताहरु नै अहिले धेरै पार्टीको मुख्य जिम्मेवारीमा पनि छन । हामीले भर्खरै सम्पन्न गरेको स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि उम्मेदवारको रुपमा युवा, विद्यार्थीहरु नै धेरै स्थानमा देखिएका छन । युवा कस्लाई भन्ने विषयमा उमेरले मात्र नभएर समाजलाई, राष्ट्रलाई कसरी विकास गर्ने, मुलुकका तमाम समस्याको निकासको विषयमा उसको चिन्तन, मनन, बुझाई र दृष्टिकोमा भर पर्छ ।

माओवादी आन्दोलनलाई हेर्ने हो भने युवाहरुले सबै भन्दा बढि त्याग र बलिदानी गरेका छन । जनयुद्धको शुरुवातीकालमा सहिद भएका दिलबहादुर रम्तेल, बेनोज अधिकारी, पूर्ण अधिकारीदेखि आजसम्मका तमाम युवा र विद्यार्थी नेताहरुको बलिदानीबाट मात्र आज यो देशमा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, जनताको हक, अधिकारको ज्ञारेण्टीको सुनिश्चितता सम्भव भएको छ । पछिल्लो समयमा मुलुकको तमाम समस्याहरु हल गर्नका लागि, स्थिर सरकार निमार्ण गर्नका लागि जसरी युवाहरुले बाम गठबन्धनको पक्षमा भुमिका खेले त्यसैको परिणाम स्वरुप गठबन्धनका उम्मेदवारहरु बहुमतका साथ निर्वाचित भएका छन ।

अहिले युवाहरु जसरी विदेशी रहेका छन, खाडि मुलुकका पसिना चुहाउन बाध्य छन, उनीहरुलाई कसरी स्वदेशमा रोजगार दिन सकिन्छ, कसरी मुलुकलाई संवृद्ध बनाउन सकिन्छ, भन्ने विषयमा हामी युवाहरुले सरकारसँग थप वहस, छलफल र दवावहरु दिन अझै आवश्यक रहेको हामीलाई महसूस भएको छ ।

दिपेन्द्र चलाउने:नेकपा राष्ट्र निर्माणमा युवाको भुमिका अपरिहार्य’

नेपालको लामो राजनीतिक प्रकृयामा युवाहरुले आनदोलनको मुख्य नेतृत्व सम्हाल्दै आएका छन । युवाहरुको आन्दोलनले मुलुकको व्यवस्था परिवर्त, आर्थिक क्रान्ति, पूजिँवादी विकासको मुद्धा उठाएपनि राजनीतिक नेतृत्वहरुले त्यसलाई ठीक ढंगले सम्बोधन गर्न सकेको देखिन्न । वास्तवमा युवाहरुको जुन जोस, जाँगर छ, त्यसले मुलुकको नेतृत्व गर्न सकेन भने २००७ साल यता भएका राजनीतिक परिवर्तनलाई थप विकास गर्न पनि सकिदैन भन्ने हाम्रो निष्कर्ष हो ।

युवाको राजनीतिक दलमा सहभागिताको सन्दर्भमा भन्नु पर्दा हाम्रो पार्टीमा अधिकाशं नेताहरु सोच र उमेर समूह सबै हिसाबले युवा नै हुनुहुन्छ । अझ भन्नु पर्दा पार्टीको शिर्ष तहसम्मका नेताहरु पनि युवा नै हुनुहुन्छ । लामो समय एउटै अभ्यासबाट आएको नेतृत्वले पछिल्लो समयको माग अनुसार सहि निकास दिन सक्दैन भन्ने हाम्रो ठम्याइ छ । हामीले अन्य राननीतिक दल भित्रका युवा पुस्ता र पुरानो पुस्ताका नेताहरुले सोच्ने तरीकालाई हेर्नेहो भने पनि धेरै अन्तर पाउन सक्छौ । हामीले कांग्रेस, एमाले, माओवादी वा जुन सुकै पार्टी भित्रका युवा पुस्ताका नेताहरुलाई हेर्दा अहिले पार्टी एकताको सन्दर्भमा पनि उहाँहरुले नयाँ खालको वहस गर्ने प्रयास गरेको देखिन्छ । तसर्थ हामी के चाहन्छौ भने राष्ट्रिय राजनीतिमा युवाहरुको भुमिका अपरिहार्य छ, महत्वपूर्ण छ ।

राष्ट्र निर्माणका लागि काम गर्ने जाँगर, उर्जा, शारिरीक अवस्था, अध्ययन र सोच सबै कुरा युवासँग हुने भएकाले राष्ट्रिय राजनीतिमा युवाहरुको जरुरी छ भन्ने हामीलाई लाग्छ । नेपालका सबै राजनीतिक पार्टीहरु भित्र युवाको सहभागितालाई बढाउदै लैजाने कुरा, नेतृत्व दिने कुरामा सहि ढंगको पहल जरुरी छ भन्ने लाग्छ ।