चलचित्र निर्माता छबिराज ओझाको जीवनः फिल्म बनाउँदा बनाउदै मर्ने चाहना(भिडियोसहित)

पत्याउनुहुन्छ–‘तिन हजारको मोबाईल बोक्छनः साझँपख रक्सी पिउँछन छबि’

(धराने छबिराज ओझा, परिवारका कान्छो सन्तान, जो नेपाली चलचित्र जगतमा ‘बा’ को रुपमा परिचय बनाउन सफल, चलचित्र निर्माता हुन, जस्लाई नचिन्ने नेपाली कमै होलान । चर्चित चलचित्र निर्माता,

छबिराज ओझा

निर्देशक तथा नायिका रेखा थापाका पूर्वपति अनि पछिल्लो पुस्ताकी मोडेल तथा नायिका शिल्पा पोख्रेलका हुनेवाला श्रीमान, पनि हुन छबिराज ओझा । बाहिरबाट हेर्दा अत्यन्त सहनशिल र हँसिलो चेहरामा प्रस्तुत गर्ने छबिको वास्तविक जीवन भने अलि फरक नै छ । पहिलो विवाहमा पत्नी वियोगको पिडा सहदै जीवनमा दुख लुकाएर हाँस्ने कोसिसमा लम्केका छबिको तीन /तीन पटक विवाह भयो, र सम्बन्धपछि श्रीमान–श्रीमतीको रुपमा सँगै बस्ने बानी परेको मान्छे, अहिलेसम्म एक्लै हिडिरेहेका छन, तर अब भने जीवनको अन्त्यसम्म नछुट्ने (विवाह) लगनगाँठो कस्ने तयारीमा रहेको उनले अलि खुशी मुद्धामा बताए।

कमर्समा इन्टर तहसम्म मात्र पढेका छबि चलचित्र जगतमा भने सफल निर्माताको रुपमा चिनीन्छन, उनले निर्माण गरेका कुनैपनि चलचित्र लगानी उठाउन नसकेको वा घाटामा गएको रेकर्ड बनेको छैन । हिन्दी फिल्म स्टोरी हेरेर चलचित्र निर्माणमा हौसिएका छबि जब २०४५ सालमा काठमाडौं भित्रिए, उनको भेट स्वर्गिय दिपक रायमाझिसँग भयो । रायमाझि त्यतिबेला चलचित्र जगतमा गनिएका हस्ती मानिन्थ्ये, उनको काठमाडौंमा ‘भाग्य रेखा’ हल थियो । उनकै सल्लाह अनुसार छबिले चलचित्र बनाउने र रायभाझिले प्रदर्शनमा सघाउँने पक्का भयो र चलचित्र जगतमा होमिए छबि । पहिलो चलचित्र युगदेखि युगसम्मको निर्माण गरे, त्यसको सफलतासँगै अहिले मंगलमसम्म पुग्दा छबिलाई चलचित्र निर्माता जगतमा धेरैका गुरु, धेरैका अभिभावक र सफल व्यवसायीको रुपमा ‘बा’ को उपाधि प्राप्त गरेका छन ।

पूर्वपत्नीहरुसँगको सम्बन्ध बिग्रिएको बेला आफुलाई सम्हाल्न औषधिको समेत सहारा लिन पुगेका छबिको जीवनमा पछिल्लो समयमा भने नयाँ बहार भित्रिएको छ, उनकै शब्दमा भन्नुपर्दा छबि र शिल्पा छिट्टै वैवाहीक जीवनमा बाधिदै छन । हामीले ‘मेरो जीवन’ स्तम्भको कुराकानीका क्रममा उनको जीवनका अनेक पक्षहरु खोतल्ने प्रयास गरेका छौ । सम्बन्धलाई वर्तमानमा बढि महत्व दिनुपर्छ तर फर्केर पछाडि जानु हुदैन भन्दै छबिले हरपल नेपालसँग आफ्नो जीवनका विविध पाटाहरुबारे यसरी सबिस्तार गरे ‍‍—–)

मेरो परिवारः फेमिलीबाट हेर्ने हो भने हामी पाँच जना दिदीबहिनी र तीनजना दाजुभाई छौ । मेरो आमा हुनुहुन्छ, बुवा त २०४२ सालमा खस्नु भयो । मेरो पहिलो श्रीमती बित्नुभएको हो, उहाँबाट हाम्रो एक जना छोरा हुनुहुन्छ । त्यसैगरी मेरो दोश्रो विवाह कानुनी रुपमा सम्बन्ध तोडिएको हो, त्यो सम्बन्धबाट हाम्रा दुईजना छोराहरु हुनुहुन्छ, उहाँहरु बाहिर पढाई लेखाइ र भविष्यको निर्माणमा लाग्नु भएको छ । रेखाजि मेरो तेश्रो श्रीमतीको रुपमा आउनुभएको थियो, तर हामी धेरै भयो, अहिले त्यो सम्बन्धमा छैनौ । (हाँस्दै…) अब छिट्टै परिवारमा नयाँ सदस्य थपिनेवाला छ ।

मेरो खानाः मलाई विशेषगरी नेपाली परिकारहरु नै मन पर्छ । तर कहिलेकाही बाहिर गएर होटेल, रेष्टुराको खाना खोने पनि बानी छ मेरो । बाहीर होटेलमा चाही कहिले म.म खाईन्छ, कहिले डोजा खाईन्छ । शिल्पाजी र मेरो खानाको रुचिमा त्यतिसारो भिन्नता छैन , हामी सँगै बसेर पनि खाना खाने गछौ ।

मेरो पोसाकः मलाई पोसाक पनि नर्मल नै मन पर्छ । सादा सट पाईन्ट लगाउदा सुहाउछ भन्छन साथीभाईहरु । हुन त मान्छेका आ–आफ्नै खालका सोखहरु हुन्छन, तर मेरो चाही यस्तो गरौँला, उस्तो गरौला भन्ने खालको छैन । न राम्रो गाडि चढ्ने सोख छ, न त भैयङ्कर हिरो भएर हिड्न मन छ, मलाई मात्र सिनेमा राम्रो बनाउने मन छ । त्यसैले हतारमा जस्तो कपडा तयार हुन्छ, त्यहि लगाउछु ।

मेरो शिक्षाः मैले औपचारीक शिक्षा धेरै अगाडिसम्म गर्न सकिन । इन्टर बढ्ने बेलामा नै चलचित्र बनाउने मात लाग्यो, पछि पढाईमा सोच्नै भ्याइन । तर आफ्नो क्षेत्रमा ठीकै गर्न सकेको छु, यसमा खुशी छु ।

मेरो भ्रमणः आजसम्म विभिन्न देशहरुको भ्रमण गरे । तर नेपालको सौन्दर्यता अरु देशमा पाइन । यहाँको प्राकृतीक संम्पदाले दनियाका मानिसको मन तानिराखेको छ, भने हामी नेपालीले त्यसको महत्व नबुझेको देख्दा दुख्ख लाग्छ ।

मेरो रुचिः मेरो जीवनमा आजसम्मको सबैभन्दा ठूलो रुचि भनेकै राम्रो चलचित्र दिने हो । म जतिनै बेलामा पनि चलचित्र, स्टोरी र समाजको मागका विषयमा सोचि रहने गर्दछु । त्यस्तै केहि नयाँ फिल्म आएको छ कि, केहि भिडियो नयाँ आएको छ कि भनेर म अपडेट भैरहेको हुन्छु । मलाई सबैभन्दा बढि मन पर्ने चाहि साउथ इन्डियन फिल्महरु हो । मलाई मलाउ भाषा सक्नि एकदमै मन छ । म दिनमा दुई तीनवटा फिल्महरु हेर्छु । चलचित्र बनाउने कुरा मेरो रुचि हो, मेरो पूजा हो, यो मेरो जीवन चलाउने पेशा, व्यवसाय हो । यही चलचित्रको निर्माताबाट मलाई छबि ओझा भनरे सबैमाझ परिचय बनेको हो, मलाई मेरो कामले चिनाएको छ । बस जीवनको अन्तिम सास फेर्नेबेला पनि चलचित्र बनाउदै प्राण त्याग्न पाउँ, यही छ, चाहना ।

मेरो स्वास्थ्यः अहिले सम्म त त्यस्तो केहि पनि देखिएकोे छैन। स्वस्थ्य छु भन्ने लाग्छ । उमेरको हिसावले विस्तारै क्रमश शरिरमा कमजोरीपन भने बढ्दो रहेछ । मानिसहरु स्वस्थ्य रहनका लागि बिहान मर्निङ वाक, शारिरीक ब्यायमहरु, योगा, ध्यान गर्छन, त्यसमा मलाई पनि मन त छ, तर बिहान चाडै उठ्नै सक्दिन,(हाँस्दै..) । बेलुका टिभि, फिल्म हेर्ने बानीछ, त्यसमै १२ बजि हाल्छ, अनि बिहान उठ्न मलाई मन त्यति धेरै लाग्दैन, चाडै उठ्न अल्छी लाग्छ । कहिले काहि त आठ बजेसम्म पनि सुत्छु ।

मेरो फुर्सदको पलः म प्राय फुर्सदमा हुदैन । साझँपख पल्टिएर फिल्म हेर्ने गर्छु । फेसबुक, इमेल, ट्वीटर जस्ता सामाजिक सञ्जालमा धेरै समय बिताउने मेरो बानी छैन । फेसबुक त मैले अस्ति मैले सात महिनापछि मात्र खोलेको थिए । कहिले काही फेसबुक खोलेपनि मोबाइलमा चलाउदीन, कम्प्युटरमा हो, त्यो पनि आधी घण्टा जतिमात्र । टक्क खालेर हेर्छु, काही साथिहरुले म्यासेज पठाएको देखेमा त्यसको जवाफ आएकि आएन भनेर दिने हो । त्यो भन्दा बढी मेरो छदै छैन । जे होस, फुर्सदको समय मेरो चलचित्र हेर्ने काममै बित्छ भनौ ।

मेरो नसाः नसाको रुपमा मैले नियमित रुपमा केही पनि प्रयोग गर्ने गरेको छैन, तर चलचित्र बनाउने कुरा चाही मेरो दिमागमा हमेसा आइरहन्छ, यो पनि नसा नै भाको छ । त्यस्तै म साझँपख रक्सी पिउने गर्दछु । मलाई रक्सिको लेभल वा नामसँग त्यति चासो हुदैन, तर पिउने बानी चै छ (हाँस्दै, किन लुकाउन र…)  तर अहिलेसम्म धेरै पिएर लडेको छैन । पहिलेका दिनहरुमा प्राय दिनहुँ जसो नै पिउथ्य, तर आजभोली त्यस्तो छैन, धेरै कम गरेको छु । त्यहीको १० १२ दिनमा, कहिलेकाही साथीभाई भेटीदा पिउने गर्छु । पहिले रेखाजीसँग अलग भएको सुरुवातको अवस्थामा एक्लोपनको महसूस हुने र उराठ लाग्ने गर्दथ्यो, त्यो अवस्थामा मैले डक्टरसाबसँग सल्लाह गरेर माईनर फिलिङ्सको (निन्द्रा लाग्ने) औषधि पनि सेवन गरे तर पछि बिस्तारै त्यसलाई छोडरदै गए, अहिले त्यस्तो अरु कुनै नसा छैन ।

मेरो घरः मेरो घर काठमाडौंको गौरीघाँटमा छ, घरमा त्यहि १२,१३ वटा जति कोठाहरु छन । मैले २०५८ सालमा त्यो घर एकतल्ले हुदाँ किनेको थिए । पछि त्यसमा तीन तल्ला थपे, त्यसबेला रेखाजी मसँगै हुनुहुन्थ्यो । मेरो घरमा शिल्पाजी पुग्नु भएको छ, उहाँले घरको विषयमा त्यस्तो केही राम्रो, नराम्रो भन्नु भएको छैन । तर सधैभरी एकउटै घरमै बस्नु पर्छ भन्नेपनि हुदैँन नी । सल्लाह अनुसार नयाँ ठाउँमा जहाँ किने पनि के फरक पर्यो । चाहीने घरको लागि जम्मा एक टुक्रा जमिन न हो (हाँस्दै…) ।

मेरो विवाहः अब यो विषयमा सबै जानकार नै हुनुहुन्छ । तीनवटा विवाह गरेर पनि एक्लो जीवनमा रहेको मान्छे, छबिराज ओझा हो । तर अब एक्लोपन हुदाँ, बिरामी हुदाँ र सामाजिक जीवनमा जीवन साथी त सबैलाई चाहीन्छ नि त्यसैले फेरी बेहुलाहा भन्ने योजना पनि बनेको छ । (हाँस्दै…) सम्भवत मेरो मंगलम फिल्लमको रिलिजपछि हामी विहेको दिन पनि फिक्स गछौ । तर शिल्पाजीको घरमा पनि हाम्रो विवाहको कुरा भै सकेको छ, हामी एक आपसमा भेट्छौ, घरपरिवारमा जान्छौ । मात्र विधिवत रुपमा विवाहको काम गर्न बाँकी छ ।

LOADING...

मेरो मोबाईलः सायद फिल्मी जगतका थोरै मानिसमा म होला, सामान्य मोबाईल बोक्ने मानिस । मलाई न त फेसबुक चलाउनु छ, न कुनै नेट, इन्टरनेटमा केही खोज्दै बस्ने फुर्सद छ, सायद त्यसैले होला मैले आजसम्म स्क्रिन टच वा त्यस्तो कुनै पनि मोबाइल प्रयोग गरेको छैन, मलाई महंगो र ठूलो मोबाईलको जरुरत नै पर्दैन, कहिले काही नेट चलाउन परेमा कम्प्युटरको प्रयोग गर्छु । मैले आजसम्म तीन हजार भन्दा बढि मूल्यको मोबाइल किनेको छैन, अहिले पनि (मोबाईल देखाउदै….) यो मोबाईल छ, यसमा एउटा एनसेल र एउटा नमस्तेको सिमकार्ड लाग्छन, फोन आउने जाने सुविधा छ, अर्को किन्नु जरुरी नै ठान्दीन ।

मेरो बानीः मेरो बानी अलि काममा कसैले डिष्टर्ब गरेको मन नपराउने खालको छ । कसैसँग कुनै कुरामा रिस उठेको बेलामा म एक्लै चुपचाप बस्ने गर्दछु, तर कलह गर्ने वा भनाभन गर्ने खालको मेरो बानी पटक्कै छैन, यसलाई कसैले एकलकाटे पनि भन्दा रहेछन, तर त्यस्तो होइन, अरुबेला म सबैसँग मजाले कुरा गर्छु । पहिले रेखाजीसँग पनि कतिपय कुरामा कुरा नमिल्दा मैले महिनैसम्म नबोलेर बसेको रेकर्ड छन । (हाँस्दै…) कुरा नबुझ्दा शिल्पाजी सँगपनि त्यस्तो व्यवहार हुन्छ कहिले काही तर लामो समयसम्म टिकि राख्दैन । एकछिनमै हामीले एक अर्काको स्वभाव बुझेर व्यवहार गर्ने गरेका छौ । त्यस्तै साथी भाईहरुले सरल र थोरै अनि मीठो बोल्ने मान्छे भनेर कहिले काही मख्ख पार्नु हुन्छ ।

मेरो जीवनको अन्तिम लक्ष्यः मेरो जीवनमा मैले जतिपनि सफलता, नाम, प्रतिष्ठा कमाए त्यो यही फिल्म जगतको सेवाबाट प्राप्त भएको हो । मैले आजसम्म अरु कुनै काम जानेको पनि छैन, सिक्न पनि खोजेन । फेरी यो चलचित्रको व्यापार भनेको आकासको पानीका भरमा गरिने खेती जस्तै हो, कहिले उब्जनि राम्रो हुन्छ, त कहिले बालीपनि खेर जान्छ । तर पनि धेरै खालका अनुभवहरु बटुल्दै यहाँसम्म पुगिएको छ, अब जीवनको अन्तिम लक्ष्य पनि नेपाली चलचित्र जगतमा राम्रो र संन्देशमूलक फिल्म दिने र समाज सेवा गर्ने नै होे । चाहना छ, चलचित्र बनाउदै गर्दा प्राण त्याग्न पाउँ, फिल्न बनाउदै गर्दा मर्न पाउँ ।