सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट हुने हमला रोक्न के गर्नुपर्ला ? अहिलेको अवस्थामा  राष्ट्रियताको रक्षा कसरी गर्न सकिन्छ ?  (प्रस्तुत छ,विप्लव माओवादी,सद्भावना र नयाँ शक्तिका नेताहरुबीचको वहस)

काठमाडौं । भारतीय पक्षबाट बेला बेलामा नेपाली भूभागमै प्रवेश गरेर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरुमाथि दुव्यवहार,कुटपिट,बलत्कार र जमिनको भोगचलनमा हस्तक्षेप गर्ने खालका घटनाहरुको पुनरावृति हुने गरेको छ । बर्षेनी भारतीय पक्षकै कारण नेपालीहरुले कुटपिट र यातना भोग्नुपर्नेदेखि लिएर एसएसबीको कारण ज्यान समेत गुमाउनु परेको छ । हाम्रो देशको भारतसँग खुल्ला सीमा रहेका कारण पनि बेलाबेला नेपालीहरुले दुख पाइरहेको सीमा क्षेत्रका नागरिकहरुको भनाइ रहेको छ । देशका नागरिकहरुले अर्को देशको सुरक्षाकर्मिबाट यसरी बर्षौदेखि अपमानीत हुने,यातना भोग्ने र ज्यान गुमाउनु पर्ने अवस्था भोगिरहदा पनि नेपाल सरकारले आफ्नो नागरिकको सुरक्षा र न्यायको लागि दिर्घकालीन समाधान गर्न सकेको छैन ।

गत विहीबार (फागुन २६ गते) कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजारमा भारतीय सीमा नजिकै एक स्थानमा कल्भर्ट राख्ने विषयमा भारतीय पक्षबाट विवाद भयो । उक्त विवादले चर्को रुप लिएपछि एसएसबीले नेपाली भूमिमै प्रवेश गरेर कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोबिन्द गौतमको गोली हानेर हत्या गर्यो । तर अहिलेसम्म भारतीय पक्षले हत्याको विषयमा सार्वजनिक रुपमा गल्ती भएको समेत बताएको छैन । भारतले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जस्तो भाव जनाउदै आएको छ । बर्षेनी यस्ता धेरै गोबिन्दहरुले सीमामा यातना भोगिरहेको भएपनि त्यसको दिर्घकालीन समाधान के हुन सक्छ भन्ने विषयमा राज्य स्वयम् जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको नागरिकहरुको गुनासो रहेको छ ।

आजको विशेष वहसको अंकमा हामीले ‘सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट हुनेगरेका हमला रोक्न के गर्नुपर्ला ? अहिलेको अवस्थामा राष्ट्रियताको रक्षा कसरी गर्न सकिन्छ ?’ भन्ने विषयमा रहेर नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य माइला लामा, सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण र नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पराजुलीबीच वहस गरेका छौ । प्रस्तुत छ,उनीहरुबीचको वहस………..

‘राष्ट्रियताको रक्षार्थ प्रतिरोधात्मक कार्यक्रम गर्नुपछ’-नेपाल कम्युनिष्ट पार्टी,स्थायी समिति सदस्य,माईला लामा

माईला लामा

भारतीय एसएसबीको गोली लागेर आफ्नै भूमिमा नेपाली नागरिक मारिएको छ, राज्यले आफ्नो नागरिकलाई सुरक्षा र न्याय दिन सकिरहेको छैन । राज्यको तर्फबाट अधिकतम कदम चालिनुपर्ने हो,तर त्यसो भएको देखिएको छैन । सीमावर्ती क्षेत्रमा बेला बेला भारतीय एसएसबीका कारण नेपालीहरुले असुरक्षित हुनुपरेको छ । त्यसको दिर्घकालीन समाधानको लागि नेपाल सरकारले दुईपक्षिय छलफल नै गर्नुपर्ने देखिन्छ । भारतको विस्तारवादी नीतिका कारण त्यस्तो समस्या बेला बेलामा आउने गरेका छन ।

भारत सरकारसँग सर्व प्रथम हाम्रो देशको सीमाना र विभिन्न समयमा भएका सन्धिहरुको पुर्नरावलोकनको विषयमा नेपाल सरकारले छलफल गर्नु पर्दछ । यदि सरकारी तहबाट गरिने कोशिसले समाधान दिन सकेन भने आम नेपालीहरु एक जुट भएर विस्तारवादी नीतिको विरोधमा जुट्दै घटनालाई अन्तराष्ट्रियकरण गर्नुपर्दछ । भारतीय दलाल प्रवृतीका कारण नेपालको राजनीतिक वृतमा उसले प्रत्यक्ष प्रभाव पार्न खोजेको देखिन्छ । उसले जब आफ्नो स्वार्थ विपरित दिशामा नेपालको राजनीति तरंगित भएको महसूस गर्छ,त्यसबेला विभिन्न बाहनामा नेपालमाथि खुल्लम खुल्ला हस्तक्षप गर्ने गरेको छ । कञ्चनपुर घटना पनि त्यसैको एउटा उदाहरण हो ।

हाम्रो पार्टीले भारतीय हस्तक्षपकारी,विस्तारवादी नीतिको गम्भिर रुपमा समिक्षा सहित देशको रक्षार्थ सबै नागरिकहरुलाई एकतामा गोलबन्द गर्दै प्रतिरोधात्मक कार्यक्रम गर्नुपर्छ भनेर त्यसको लागि तयारी गरिरहेको छ । हामीले देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने योजना बनाएका छौ ।

‘सीमा सम्बन्धी विवादको छलफलबाट निकास खोज्नुपर्छ’-सद्भावना पार्टी,सह अध्यक्ष, लक्ष्मण लाल कर्ण

लक्ष्मण लाल कर्ण

मधेसको सम्मपूर्ण बोर्डरको रक्षा आजसम्म मधेसी जनताले नै गरेको छ ,यो कुरालाई सबैले स्विकार गरेका छन । सिंगो मधेसको रक्षा गर्ने मधेसीलाई विखण्डनकारीको बिल्ला लगाएर यो देशमा राष्ट्रियता खोज्नेहरुले नै देशको विखण्डन चाहिरहेका छन । कञ्चनपुरको घटना वा सीमाक्षेत्रको सुरक्षाको सन्दर्भमा कुरा गर्दा मुख्य रुपमा खुल्ला बोर्डर हुन नै कारक तत्व रहेको देखिन्छ । दशगजा क्षेत्रसँग जोडिएका स्थानमा कहाँ कस्ले आवादी गर्ने भन्ने विषयमा विवाद हुँदा दुई पक्षका जनताको बीचमा मुडभेड भएको छ, तर त्यो दुई राज्यको बीचमा भएको हमला होइन ।

जब राज्यहरुको बीचमा मुडभेड भएको होइन भने,त्यसलाई विदेसी हमला भन्न हुदैन,मिल्दैन । सीमा सम्बन्धी कुनै विवाद भएको खण्डमा दुई राज्यबीच छलफल गरेर सुल्ट्याउनु पर्दछ । तर त्यसता कुरालाई राज्यबीचको हमलाको रुपमा हेर्ने दृष्टिकोण अत्यन्त गलत छ । सरकारले मधेसमा मारिएका जनताहरुको विषयमा सत्य तथ्य जानकारी खोजेको छैन, मधेसका सहिदहरुको सम्मान गर्न सकेको छैन तर अन्य अवस्थामा सरकारले मनमर्जि रुपमा सहिद घोषणा गर्ने काम गरेको देखिन्छ । नागरिकहरु कसैको गोलिबाट मारिनु हुदैन,यसमा राज्यले विचार गर्नु पर्दछ भन्ने हाम्रो भनाई रहेको छ  ।

‘खुल्ला सीमा हाम्रो लागि समस्या बनेको छ’- नयाँ शक्ति पार्टी नेपाल,नेता, देवेन्द्र पराजुली

देवेन्द्र पराजुली

बेला बेलामा हुने त्यस्ता खालका हमलाबाट सीमावर्ती क्षेत्रका नागरिकहरुले डर र क्रासमा जीवन चलाइरहेका छन । हरेक बर्ष त्यस्ता प्रवृतीका घटनाहरु दोहोरिरहेका छन । तर यो देशको सरकारले त्यसको दिर्घकालीन समाधान तिर सोचिराखेको देखिएको छैन । राज्यले कुटनितिक पहलबाट दुई देशबीचमा आएका समस्याहरु र त्यसको दिर्घकालीन समाधानको विषयमा निकास खोज्नु पर्दछ । हामीले देशको राष्ट्रियताको रक्षा गर्न सकेनौ भने दिन प्रतिदिन यो झनै कमजोर हुदैँ जाने भएकाले नागरिक,राजनैतिक दलहरु र सरकार सबैले यो विषयमा गम्भिर रुपमा सोच्नु पर्दछ ।

सबै राजनीतिक दलहरुबीच छलफल गरेर हाम्रो देशको साँझा परराष्ट नीति बनाउदै छिमेकी देशहरु सँगको सम्बन्ध बढाउनु पर्छ । हामीप्रति हेपाहा प्रवृती राख्नेहरुसँग त्यो प्रवृतीको विरोध गर्न र समान सम्बन्ध राख्नेहरुसँग सम्बन्ध सुढृण बनाउदै बढ्नुपर्दछ । हाम्रो देशको खुल्ला सीमा पनि हाम्रो लागि समस्या बनेको छ । हामीले सीमा क्षेत्रलाई विकास र व्यावस्थीत गर्नका लागि पनि छलफल चलाउनेपर्ने देखिन्छ । यदि राष्ट्रियता जोगाउनका लागि सीमा क्षेत्रमा तारबार लगाउने वा सील गर्नुपर्ने अवस्थानै आएमा पनि पछि पर्नु हुदैन । तर सबै काम दुई देशको सहमतिमा,सल्लाह गरेर गर्दा राम्रो हुन्छ । यही नै सबै भन्दा राम्रो विधि र प्रकृया हो ।